Autori ले Street View मा एक पछि अर्को फोटो राखेर फिनल्यान्ड भरिका सडकहरूको मर्मतसम्भार कार्यमा कसरी क्रान्ति ल्यायो
खराब सडक, काम नलाग्ने चिन्ह र उज्यालोको राम्रो व्यवस्था नभएका सडकहरू भनेका विश्वभरका सवारी चालक र नगरपालिकाहरूले दिनहुँ झेल्नु पर्ने समस्याहरू हुन्। तर पूर्वाधारको मर्मतसम्भारका लागि विभिन्न प्रोग्रामहरू विकास गर्ने फिनिस कम्पनी Autori ले Google नक्साको Street View का सहायताले सडकको स्तरसम्बन्धी डेटा सङ्कलन तथा विश्लेषण गर्ने अझ प्रभावकारी तरिका पत्ता लगायो।
रोडको डेटा
२० वटा
समावेश गर्ने परियोजनाहरू
फिनल्यान्डमा सडक मर्मतसम्भारको कुशल व्यवस्थापन
सन् १९८८ मा स्थापना भएको Autori ले अवस्था सुधार, कार्य योजना र मर्मतसम्भार गर्ने निकायबिचको समन्वयका लागि फिनल्यान्डका सडकसम्बन्धी काम गर्ने निकाय, ठेकेदार र तेस्रो पक्षीय परामर्शदाताहरूलाई Software as a Service (SaaS) प्रोग्राम उपलब्ध गराउँछ। पूरै देशमा सडकको अवस्था अनुगमन गर्न अत्यधिक समय र खर्च लाग्ने गर्छ। तर, अन्य कम्पनीहरूले लागत हेर्दै गर्दा Autori ले अद्वितीय अवसरको लाभ उठायो। Street View मा आफ्नै फोटो र SaaS प्रोग्राम प्रयोग गरेर यस कम्पनीले फिनल्यान्डमा सडक मर्मतसम्भार पूर्वाधारको डेटा अझ राम्ररी व्यवस्थापन गर्न र यी कार्यहरूसम्बन्धी निर्णय लिनका लागि अझ राम्रो संयन्त्र बनाएको छ।
छिटिछरितो डेटा सङ्कलन तथा आदानप्रदानको आवश्यकता
पहिले पहिले सडकसम्बन्धी काम गर्ने निकायका अधिकारीहरूले कुन ठाउँको सडकमा के कस्तो मर्मतसम्भारको आवश्यकता छ भन्ने कुरा थाहा पाउन सडकमै गएर हेर्नु पर्थ्यो। अर्थात्, सडकको मर्मतसम्भारमा ध्यान दिन हजारौँ किलोमिटर गाडी चलाएर जानु पर्थ्यो भने ठाउँ ठाउँमा कयौँ स्टपहरू बनाउनु पर्थ्यो। यसले वातावरणमा प्रतिकूल असर पुर्याउने मात्र नभई यो कार्य गर्न अत्यधिक खर्च, स्रोत साधन र समय पनि चाहिन्छ। त्यसैले डिजिटल अनि अझ वातावरण मैत्री प्रोग्राम चाहिएकाले Autori लाई एकदमै नयाँ ढङ्गले सोच्न प्रेरित गर्यो। र सडक स्तरीय भिजुअलाइजेसन प्रोग्रामको लागि पहिलो रोजाइ Street View नै थियो।
सडक मर्मतसम्भारको कार्य जारी राख्न बारम्बार विभिन्न पक्षसँग कयौँ डेटा सेयर गर्नु पर्ने हुन्छ। Street View सँग प्रयोगकर्ताहरूमाझ अझ सजिलैसँग जानकारी सेयर गर्न चाहिने आवश्यक सबै संयन्त्रहरू छन् र स्मार्टफोन हुने सबैजनाले लग इन नगरिकन वा सफ्टवेयर इन्स्टल नगरिकन Street View प्रयोग गर्न सक्छन्। र यसअघि Street View सडक मर्मतसम्भारका लागि प्रयोग गरिसकिएको भए तापनि डेटा अपडेट गरिराख्नु सबैभन्दा ठुलो चुनौती थियो। हामीले Street View लाई सडक मर्मतसम्भारका लागि प्रयोग गरिने हाम्रो सफ्टवेयरसँग इन्टिग्रेट गरेर यो समस्या पनि समाधान गर्यौँ।
-
Ari Immonen, Autori का डिजिटलाइजेसन परामर्श शाखा प्रमुख
सडक सुरक्षाका निम्ति अनलाइन र अफलाइन प्लेटफर्मको सम्मिश्रण
Autori ले २०१७ सालको सुरुतिर फिनल्यान्डका राजमार्गहरूको ३६० डिग्रीको फोटो खिचेर अपलोड गर्न थाल्यो। यसले ती फोटोहरू प्रकाशित गर्न कम्पनीको Google खाता प्रयोग गर्यो। त्यस बेलादेखि यस कम्पनीले ४०,००० कि.मि. राजमार्ग समेटिने गरी ८० लाख फोटोहरू खिचेर अपलोड गरिसकेको छ। यसले गर्दा अनलाइनबाटै सडकको मर्मतसम्भार व्यवस्थापन गर्न सम्भव भएको छ। Street View लाई आफ्नो SaaS प्रोग्रामसँग समाहित गरी यस कम्पनीले सडकसम्बन्धी काम गर्ने निकायहरूका लागि टाढैबाट सजिलैसँग सडकसम्बन्धी पछिल्लो जानकारी हेर्न सम्भव तुल्याएको छ।
Autori ले Street View मा प्रकाशित गरेका फोटोहरूका कारण आज सडकमा आवश्यक रहेका सङ्केत तथा चिन्ह र सडकमा परेका खाल्टाखुल्टीसम्बन्धी रिपोर्टहरू अपलोड गरी सम्बन्धित पक्षहरूलाई ट्याग गर्न सकिन्छ। जसले गर्दा सम्बन्धित पक्षहरू आफ्नो कार्यालयबाटै Autori को ड्यासबोर्डमार्फत यी रिपोर्टहरू निरीक्षण गर्न सक्छन्। आवश्यकताअनुसार प्रयोग गर्न सकिने प्रोग्राम उपलब्ध गराएर Autori ले ठेकेदारहरूलाई पनि एकै ठाउँबाट सम्बन्धित मर्मतसम्भार कार्य ट्र्याक गर्न र सोबारे योजना बनाउन मद्दत गरेको छ। सडकसम्बन्धी डेटा अद्यावधिक राख्न कुनै सडकको मर्मतसम्भार कार्य पूरा भएपछि कामदारहरू उक्त सडकका ३६० डिग्रीका नयाँ फोटोहरू खिचेर अपलोड गर्छन्। यस कार्यले एकातिर कार्यस्थलमै पुगेर निरीक्षण गर्नु पर्ने आवश्यकता घटाएको छ भने अर्कातिर समय र पैसाको बचत गर्नुका साथै र हरितगृहको उत्सर्जनमा कमी ल्याएको छ।
सबै क्षेत्रको सडक सुरक्षामा क्रान्तिकारी परिवर्तन
Autori ले Street View का सहायताले फिनल्यान्डका सडकसम्बन्धी काम गर्ने निकायहरूलाई जानकारी आदान प्रदान गर्ने कार्यमा सुधार ल्याउन र परिस्थितिजन्य जागरूकता बढाउन मद्दत गरेको छ। फलस्वरूप, खर्च कम भएको छ भने कार्यक्षमतामा वृद्धि भएको छ। Street View ले विश्वभर पार्न सक्ने सकारात्मक प्रभाव पहिचान गरेर नै Autori ले अहिले सडकसम्बन्धी डेटा सङ्कलन तथा आदान प्रदान गर्ने भावी मोडल मानकीकृत गर्ने कार्य गरिरहेको छ। Autori ले १,००० कि.मि. साइकल मार्ग तथा पदमार्गहरूको फोटो खिचेर स्थानीयहरूलाई कार्बन उत्सर्जनमा कमी ल्याउन पनि मद्दत गरेको छ। मान्छेहरू अब अद्यावधिक डेटा हेर्न तथा अझ वातावरण मैत्री तरिकाले छोटो दूरीको यात्रा गर्न सक्छन्। यसका अतिरिक्त Autori आउँदो गर्मीयाममा फिनल्यान्डको थप १५,००० कि.मि. सडकको डेटा सङ्कलन गर्ने उद्देश्यले यात्रामा निस्कने छन्। यससँगै फिनल्यान्डका लगभग आधा राजमार्गहरूको फोटो खिच्ने तथा तिनलाई Street View मा प्रकाशित गर्ने Autori को लक्ष्य करिब करिब पूरा हुने छ।
विश्वभरिका व्यवसायहरूले जटिल समस्याहरू हल गर्नका निम्ति पृथक तरिकाले Street View प्रयोग गरिरहेका छन्। Autori को सफलता यसकै एउटा उदाहरण हो। यो फोटोको सहायताले नक्साङ्कन गर्ने संयन्त्र मात्र होइन। यसले तपाईंको व्यवसायमा अतुलनीय फाइदा पुर्याउन सक्छ। तपाईं पनि Street View प्रयोग गरेर आफ्नै सफलताको कथा लेख्न तयार हुनुहुन्छ?
निम्न विषयअन्तर्गत पोस्ट गरिएको:
नक्साङ्कन र डिजिटाइजेसनथप हेर्नुहोस्